कम्युनिस्टहरूलाई शुभकामना !

0
64

नयाँ संविधान अन्तर्गत नयाँ संरचनाका अग्रवाहक बन्न पुगेका कम्युनिस्टहरुलाई आगामी पाँच वर्षका लागि शुभकामना !
पुस १४, २०७४

काठमाडौँ — अन्तत: अनेकानेक आशंकालाई चिर्दै मुलुक नितान्त नवीन चरणमा प्रवेश गरेको छ । निर्वाचन सम्पन्न भएसँगै केन्द्रीय प्रतिनिधिसभाका साथै सातै प्रदेशमा राजनीतिक संस्था गठन गर्ने मार्गप्रशस्त भएको छ । गणतन्त्रका वैरीहरू किनारा लाग्नुपर्ने अवस्था आएको छ । देश संघीय भएको छ, संघीयतामाथि गरिएका घात, आघात र प्रतिघात निष्फल भएका छन् । लोकतन्त्रको नव्यतम आयाम प्रारम्भ भएको छ ।

निश्चय नै प्रक्रियामा प्रशस्तै आलोचनाका ठाउँ छन्, पात्र र प्रवृत्तिप्रति असन्तुष्टिका चाङ छन् । तर यसमाथि आज धेरै गुनासो नगरौं, किनभने प्रक्रिया निरन्तर अभ्यासद्वारा परिमार्जित हुँदै जाने हो । पात्रहरू फेरिने हुन्, फेरिँदै जानेछन् । प्रवृत्ति, पात्र फेरिएसँगै सुध्रिँदै जान्छ । लोकतन्त्रको विशेषता हो यो । यसमा स्वयंलाई अविजेय ठान्ने अजंगका पात्रहरू पनि पछारिन्छन्, नपत्याउँदा लिखुरेहरू जितेर आउँछन् । देशलाई कसको आवश्यकता छ, कसको छैन, यसको निर्धारण जनमतले गर्छ, सामूहिक चेतले गर्छ । हुँदा–हुँदा हेर्नुहोस्, लोकतन्त्र कति उदार भइसक्यो, यसले कम्युनिस्टहरूलाई पनि लोकतान्त्रिक बनाउने उद्योग गर्न सक्छ ।

यसमा शंका छैन, कम्युनिजम प्रचलित लोकतन्त्रको प्रतिरोधी विचार हो । तिनै कम्युनिजम ल्याउन भनी कुनै बेला नरहत्यामा संलग्न व्यक्तिहरू अहिले लोकतन्त्रका मुख्य धारामा आएका मात्र होइन, प्रबल जनादेशसहित शासनाधिकारी बन्न गइरहेका छन् । लेनिन, स्टालिन, माओ र पोलपोटका अनुयायीहरूले नेपालको लोकसत्ता सञ्चालन गर्ने वैधता प्राप्त गरेका छन् । साथै निकट अतीतमै १७ हजार नेपालीको
प्राणवायु हरण गर्ने पात्रहरूलाई नेपाली जनमतले आफ्नाअंगरक्षक नियुक्त गरेको छ । यो सुन्दा, देख्दा विडम्बना लाग्न सक्छ, तर होइन ।
लोकतन्त्र गौतम बुद्धजस्तै क्षमाशील छ । यसले कसैलाई वैरी ठान्दैन, यो पद्धति सर्वहितैषी, प्रियदर्शी हो । यसैप्रति वैरभाव राख्नेहरूलाई पनि अंकमाल गर्ने सामथ्र्य राख्छ यो । प्रत्यक्षलाई प्रमाण चाहिँदैन, आफैं हेर्नुहोस् । लोकतन्त्र मास्ने संकल्पसाथ देशलाई हत्या–हिंसाको दुश्चक्रमा फँसाउनेहरूलाई लोकतान्त्रिक नेपालले सप्रेम अंकमाल गरेको छ । यतिमात्र कहाँ हो र, चितवनमा बँँदरमुडे बमकाण्ड भोगेका मतदाताले तिनै प्रचण्डलाई मत दिए, जसको आदेशमा त्यही ठाउँमा बसमा यात्रा गरिरहेका निर्दोष यात्रुहरू जिउँदै जलाइएका थिए । कल्पना गर्दा पनि भयावह लाग्छ, कति दर्दनाक थियो, त्यो क्रूर दृश्य । तर त्यति भयावह, यातनाप्रद मृत्यु पाउनेहरूका आफन्तले तिनै प्रचण्डलाई विजयमालाले सुशोभित गरे ।
यो लोकतन्त्र हो, कम्युनिजमको ठिक विपरीत विचारधारा । मात्र विचारधारा होइन यो, शान्ति र अहिंसामा आधारित जीवन पद्धति हो । यसमा क्षमा छ । दया छ । प्रेम छ । स्नेह छ । वात्सल्य छ, विश्वास छ । त्यसैले यो लोकको तन्त्र हो । यसले कसैको, यहाँसम्म कि अधिनायकवादीहरूको अधिनायकत्व पनि स्वीकार गर्दैन । वात्सल्य छ, यसमा । तर कताकता बेला–बेला, राम्रो प्रयोजनका लागि, उम्लेकालाई नसिहत दिनका लागि, यो निर्मम पनि हुने गर्छ । जस्तै, यसपालि यो नेपाली कांग्रेसप्रति कठोर भएको छ । किन भएको होला ? कांग्रेस त यसका स्वनामधन्य नेताहरू भन्ने गर्छन्, लोकतन्त्रको मियो हो । कसै–कसैले त कतिसम्म भन्ने दुस्साहस गर्ने गरेका छन् भने कांग्रेस लोकतन्त्रको पर्याय हो । यसो भन्नु लोकतन्त्रको अवमूल्यन थियो र हो ।
किनभने लोकतन्त्रको मियो जनता हुन्, कुनै दलविशेष होइन । लोकतन्त्रको पर्याय लोकतन्त्र आफैं हो, अरू कोही होइन । तर कांग्रेस नेताहरू आफू सत्तामा हुनु नै लोकतन्त्र हो, नहुनु अधिनायकवाद भन्नेसम्मको अधिनायकवादी मनोवृत्तिका दास बन्न पुगेका थिए । यसका नेतालाई अहंकारले उन्मत्त बनाएको थियो । देशै परिवार, देशवासी स्वजन हुनुपर्छ, नेताको । तर यसका नेता परिवार मोहमा यसरी फसेका थिए कि उनीहरू त्यो बाहेक अरू केही देख्नै छाडेका थिए । निष्ठावान कांग्रेसजन दु:खी थिए, शुभचिन्तकहरू रुष्ट । विद्वानहरू कांग्रेससँग तर्किन थालेका थिए । सर्वसाधारणमाझ यसको आकर्षण निरन्तर कम भइरहेको थियो । त्यो चेतावनी थियो, कांग्रेसलाई सुध्रने । तर सुध्रेन । परिणाम आँखै सामुन्ने छ । केन्द्रीय शासनबाट यसको हात त छुट्यो नै, सातका सातै प्रदेशमा सत्ता त परै सशक्त प्रतिपक्षसमेत बन्ने हैसियतसम्म रहेन ।
धेरैलाई लाग्न सक्छ र लागेको पनि छ, कांग्रेसको यो दुर्दशा कम्युनिस्ट गठबन्धनका कारण हुनपुगेको हो । यथार्थ भने फरक छ, कांग्रेसको आन्तरिक सामथ्र्य नै क्षीण भएकाले, जनतासँग मनको सम्पर्क कमजोर हुँदै गएकाले यति नराम्रो पराजय भोग्नुपरेको हो, नकि गठबन्धनका कारणमात्र । गठबन्धन त वास्तवमा निमित्त मात्र हो, मुख्य कारण कांग्रेसद्वारा लोकतन्त्रको बारम्बार मानमर्दन गरिनु हो । लोकतन्त्र सम्मत परिवर्तनका एजेन्डालाई स्वीकार्न नसक्नु, अरुले स्वीकारेपछि त्यसैलाई पछ्याउनु, उसको नियति भएको थियो । १९ जेठ २०५८ मा दरबार हत्याकाण्डपछि देश गणतन्त्र उन्मुख हुँदायसका नेतालाई होशै थिएन । गणतन्त्रको आफैंले नेतृत्व लिनुपर्नेबेलामा नलिएकाले त्यो एजेन्डा तत्कालीन माओवादीका पोल्टामा पर्नगयो र प्रकारान्तरमा कांग्रेस माओवादीको पिछलग्गु देखिन पुग्यो ।

अझ दु:खद प्रसंग त के भने देश केन्द्रीकृत संरचनामा उन्नत हुनसक्दैन, त्यसका लागि क्षेत्रीय स्वायत्ततासहित प्रादेशिक संरचनामा जानुपर्छ भन्ने प्रस्ताव कांग्रेस नेतृत्व समक्ष, धेरैपटक पुर्‍याइएको तर नेतृत्वद्वारा बारम्बार लत्याइएको थियो । त्यही अर्थात् सर्वप्रथम कांग्रेस समक्ष प्रस्तुत राज्य पुन:संरचना सम्बन्धी प्रस्ताव कालान्तरमा देशको आवाज बन्यो र नयाँ संविधानको मार्गदर्शक सिद्धान्त । तर त्यो सिद्धान्तको व्यावहारिक स्थापना कांग्रेसको पहलमा भएन, विडम्बना के भने त्यसैमा लत्रिएर आउनुपर्‍यो । आफूलाई लोकतन्त्रको मियो भन्ने दलको नेतृत्व राज्यको लोकतान्त्रीकरणका मामिलामा कतिसम्म अनुदार थियो, यसको साक्षात् प्रमाण कांग्रेसद्वारा सुरुमै राज्य पुन:संरचना परियोजना हार्दिकतापूर्वक नस्वीकारिनु हो ।
यहाँ अहिले उल्लेख गरिएका प्रसंग त मोटा–मोटा विषय हुन्, अरू अनगिन्ती छन्, जसका कारण कांग्रेसले यी दुर्दिन देख्नुपरेको हो । त्यसैले कम्युनिस्ट गठबन्धनले यो नठानोस् कि उसलाई प्राप्त जनादेश सदाकालका लागि हो । जसरी कांग्रेसलाई सदाकालका लागि जनादेश प्राप्त भएको थिएन, त्यसरी नै कम्युनिस्टहरूलाई पनि होइन । ख्याल रहोस्, यो आवधिक हो, मात्र पाँच वर्षका लागि । पहिलो सर्त, यस गठबन्धनले पाँच वर्ष राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्नुपर्छ । यस अवधिमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेजस्तै चीनबाट सररर रेल नआउला, तर हिमाल वारपार रेलमार्ग निर्माण आरम्भ भएकै हुनुपर्छ । चीनसँग यातायात पारवहन कागजमा छ, यो यथार्थमा अनुवाद भएको हुनुपर्छ । त्यस्तै भारतसँग नेपालको निर्भरता कम गर्दै त लानुपर्छ । तर सम्बन्ध तिक्त नहुने प्रबन्ध पनि गर्नुपर्छ ।

भारतसित नेपालको सम्बन्ध बहुआयामिक छ । हो, ठूलठूला कुरा गर्न छुट छ । साथसाथै के पनि बिर्सन मिल्दैन भने लाखौं नेपाली भारतमा बसोबास गर्छन् । यहाँ उफ्रिँदा त्यहाँ बस्ने नेपालीको दैनन्दिनीलाई प्रतिकूल असर पर्न सक्छ । त्यसैले राष्ट्रिय स्वाभिमानको रक्षा गर्दागर्दै संवेदनशील पनि हुनुपर्छ भन्ने यथार्थ बिर्सन मिल्दैन । निश्चय नै भारतले धेरै प्रसंगमा नेपाली स्वाभिमानको अवमूल्यन गरेको छ । तर यो पनि सत्य हो, आज नेपाल लोडसेडिङमुक्त हुनपुग्नुमा भारतबाट आयात गरिएको विद्युतको अहम् भूमिका छ । अरू पनि नेपालीको दैनिकीको अधिकांश आपूर्ति भारतबाटै आयातित वस्तुहरूबाट हुने गरेको र नेपाली चढ्ने अधिकांश वाहन उतैबाट आयात गरिएका हुन् । सामथ्र्यका हिसाबले देश कति दुर्बल छ, यो स्वत: प्रस्ट छ । त्यसैले आउँदो पाँच वर्ष नेपाल र नेपालीको सामथ्र्य वृद्धि नै गठबन्धनको प्राथमिकता हुनुपर्छ, सत्ताको अहम् र चलखेल किमार्थ होइन । अहम्, चलखेल र अस्थिरताको नतिजा हेर्न कतै जान पर्दैन अब, संसद र प्रदेशसभाहरूमा कांग्रेसले ओगट्ने स्थानतिर नजर दिए पनि पुग्छ ।

यस अर्थमा समेत देश नवीन भएको छ । विदितै छ, कांग्रेसको केन्द्रीयताको ठाउँ कम्युनिस्टहरूले लिएका छन् । नयाँ बनेको संविधान अन्तर्गत नयाँ संरचनाका संवाहक कम्युनिस्टहरू हुनपुगेका छन् । कम्युनिस्टहरूको एकलौटी बहुमत केन्द्रमा मात्र होइन, प्रदेशमा पनि, अझ स्थानीय तहमा समेत वास्तवमै नयाँ प्रयोग हो । नेपाली जनमतले गरेको यो ठूलो आँट हो कि अब हेरौं, कांग्रेसमुक्त शासन कस्तो हुन्छ † कतिपयको मनले नचाहेको होला, तर नचाहेर के हुन्छ, लोकतन्त्रमा जनादेशको सम्मान हुनैपर्छ, गर्नैपर्छ ।
यसर्थ भन्नैपर्छ, नयाँ संविधान अन्तर्गत नयाँ संरचनाका अग्रवाहक बन्न पुगेका कम्युनिस्टहरूलाई आगामी पाँच वर्षका लागि शुभकामना !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here