एमालेले दियो झड्का सरकारलाई, सल्लाह बिना तोकेको प्रदेश प्रमुख र अस्थायी मुकाम नयाँ सरकार गठनपछि नमान्ने संकेत

0
101

काठमाडौं, ३ माघ । प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने संवैधानिक दायित्व पूरा गरी राष्ट्रियसभाको चुनाव निर्धा्रित मितिमै गर्न एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।

बुधबार विहान पार्टी मुख्यालय धुम्बाराहीमा बसेको स्थायी समिति बैठकले यस्तो ध्यानाकार्षण गराएको हो । कामचलाउ हैसियतको सरकारले कर्मचारी सरुवा, बढुवा, नियुक्ति र राज्यकोष दोहन गर्ने काम गरेको भन्दै आजको बैठकले आपत्ती पनि जनाएको छ ।

कार्यवाहक अध्यक्ष बामदेव गौतमको अध्यक्षतामा बसेको बैंठकले प्रदेश प्रमुख र अस्थायी मुकामबारे सरकारले आफूहरुसँग सल्लाह नगरेकाले नयाँ सरकार गठनपछि त्यसको निरन्तरताबारे अहिले भन्न नसकिने निश्कर्ष निकालेको छ ।

प्रचार विभाग प्रमुख योगेश भट्टराईले बैठकपछि भने,‘सरकारले हामीसँग सहमति मागेको छैन, प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको संवैधानिक अधिकार हो । उसले आफ्नो संवैधानिक दायित्व पूरा गरोस्, त्यसपछि हामीले के गर्नु पर्ने गरौंला ।’

कामचलाउ हैसियतको सरकारले नयाँ दरवन्दी सिर्जना गर्ने, सरुवा बढुवा गर्ने, राज्यको ढुकुटीबाट रकमान्तर गरी खर्च गर्ने र राज्यकोषको दोहन गर्ने काम नरोकेको भन्दै एमालेले त्यसलाई तत्काल रोक्न आग्रह गरेको छ । ‘कामचलाउ सरकारले कर्मचारीको नयाँ दरवन्दी सिर्जना गर्ने, नियुक्ति सरुवा, बढुवा र सरकारी ढुकुटीबाट रकमान्तर गरी खर्च गर्ने जस्ता ज्यादती गरिरहेको छ’ भट्टराईले भने, ‘यसलाई तत्काल रोक्न बैठकले ध्यानाकर्षण गरेको छ ।’

यस्तै राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारका नाम सिफारिस गर्दा यसअघिका चुनावमा उम्मेदवार नभएका र विभिन्न क्षेत्रमा योगदान पुर्याएका ब्यक्तहरुबाट गर्न मातहत कमिटीहरुलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here