साहु प्रदेशीले उनीविरुद्ध ९० लाख रुपैयाँ तिर्न बाँकी रहेको कागज देखाइरहेका छन् ।

0
63

काठमाडौँ — पाठेघरको अप्रेसन गर्न दुखनीदेवी चौधरीले तीन वर्षअघि लिएको ४ लाख रुपैयाँ ऋणको साँवा र ब्याजसहित ८ पटक गरेर ६ लाख ६४ हजार रुपैयाँ बुझाएको साहु श्याम प्रदेशीकै हस्ताक्षरको भर्पाइ । ऋण तिर्न उनले आफूसँग भएको एक कट्ठा घडेरीसमेत बेचिसकेकी छन् ।

तर साहु प्रदेशीले उनीविरुद्ध ९० लाख रुपैयाँ तिर्न बाँकी रहेको कागज देखाइरहेका छन् । दुखनीका अनुसार प्रदेशीले उनका श्रीमान् ठागा, ज्वाइँ किरण चौधरी र उनीसँग ६ वटा लेनदेनको कागज बनाएका छन् । अनपढ दुखनीले भनिन्, ‘करकापमा पारेर के–के कागजमा ल्याप्चे गरायो, अब म न्याय खोज्न कहाँ जाऊँ ?’

दुखनीदेवी जस्तै न्याय खोज्न राजधानी आइपुगेका पीडितहरू ।


‘सैतानी ब्याज’ को पासोमा परेका सर्लाहीका जब्दी, पिपरियालगायत स्थानका ३० महिलासहित ३६ जना न्यायको खोजीमा काठमाडौं आएका छन् । गौशालाको एउटा लजमा ६ दिनयता चिउरा–दालमोठका भरमा बसिरहेका अधिकांशविरुद्ध जिल्ला अदालत सर्लाहीमा मुद्दा चलिरहेको छ । उनीहरूको भनाइ छ– ‘सयकडा पाँच रुपैयाँ ब्याजदरमा ५० हजारदेखि दुई लाखसम्म ऋण दिएका श्याम प्रदेशी भन्ने श्यामकृष्ण साहले तीन–चारवटा फर्जी कागज बनाएर ऋणीमाथि ब्याजको पासो थापेका छन् ।’ लिएभन्दा धेरै रकमको फर्जी कागज बनाएर प्रदेशीले ऋणीविरुद्ध सर्लाही जिल्ला अदालतमा लेनदेन मुद्दा दायर गरेको पीडितको आरोप छ ।

यसबारे बुझ्न कान्तिपुरले बारम्बार प्रयास गर्दा पनि प्रदेशी सम्पर्कमा आएनन् भने उनका छोरा सुजय साहले ऋणीले पैसा पचाउन नाटक गरेको दाबी गरे । मधेसमा चर्को ब्याजमा ऋण दिने र कागज बनाएर त्यसैका आधारमा ऋणीलाई वर्षौंसम्म शोषण गरिरहने अवस्थालाई ‘सैतानी ब्याजको पासो’ भन्ने चलन छ । श्याम प्रदेशीको मिटर ब्याजको धन्दाबारे जिल्लाका अधिकांश प्रमुख दलका नेता, सबैजसो सरकारी कार्यालयका प्रमुख जानकार छन् । प्रदेशीले अधिकांश दलित, भूमिहीन र महिलालाई ऋण दिएका छन् । आफूअनुकूल हुने गरी उनीहरूलाई करकापमा पारेर फर्जी कागजात तयार पारेका छन् । तिनै कागजातका आधारमा उनी ऋणीबाट साँवाको दोब्बर र तेब्बरसम्म रकम असुल्छन् । जब ऋणी तिर्नै नसक्ने हालतमा पुग्छन् अनि अदालतमा लेनदेन मुद्दा दायर गर्छन् । सर्लाही जिल्ला अदालतका कर्मचारी दिनेश मिश्रका अनुसार प्रदेशी र उनको परिवारका नाममा जारी लेनदेनको ५० मुद्दामा प्रदेशीको पक्षमा फैसला गरी अदालतले ३५ दिने पुनरावेदनको म्याद जारी गरिसकेको छ । यस्तो म्याद तामेल भएको सात दिनभित्र अदालतमा उपस्थित नभए कानुनबमोजिम सजाय हुने व्यवस्था छ । प्रदेशीले दायर गरेका लेनदेनका ३५ मुद्दा भने अदालतमा फैसलाका क्रममा छन् । सोही मुद्दाका आधारमा दुई ऋणीले जेल सजाय भोगिरहेका छन् । प्रदेशीले ऋणीहरूसँग छोरी इला साह, ज्वाइँ रामबाबु साहदेखि छोरा सुजय साह, श्रीमती रन्जु साहसम्मले ऋण दिएको कागज बनाएका छन् ।

लालबन्दी–४ करैयाकी सोल्फी चौधरीले २०७२ असोजमा सयकडा मासिक पाँच रुपैयाँ (अर्थात् ६० प्रतिशत) ब्याजदरमा ५० हजार रुपैयाँ ऋण लिइन् । प्रदेशीले ऋण दिएबापत भन्दै ५ हजार रुपैयाँ कटाएर ४५ हजार हातमा थमाए । तर, सोल्फीसँग भने डेढ लाख रुपैयाँ लिएको कागज गराइयो । घरव्यवहार धान्न पैसाले फिटीफिटी परेकी सोल्फीसँग कुनै उपाय थिएन । त्यसैले अनपढ उनले प्रदेशीले भनेकै कागजमा ल्याप्चे लगाइदिइन् । सोल्फीले पछिल्ला दुई वर्षमा साँवा र ब्याज गरेर ८० हजार रुपैयाँ बुझाइसकिन् । तर, करकापमा पारेर प्रदेशीले दस लाख रुपैयाँँ ऋण लिएको देखाई दुई फरक–फरक कागजमा सोल्फीको ल्याप्चे लगाइसकेका छन् । श्रीमती रन्जुसँग अढाई लाख र छोरी निकितासँग साढे सात लाख रुपैयाँ ऋण लिएको कागजका आधारमा प्रदेशीले सर्लाही जिल्ला अदालतमा सोल्फीविरुद्ध लेनदेनको मुद्दा हाले । त्यही मुद्दाका आधारमा सोल्फीलाई पुस ३ गते अदालतले ३५ दिने म्याद तामेल गरेको छ । न्यायको आसमा काठमाडौं आएकी उनले कान्तिपुरसँग भनिन्, ‘जति तिरे पनि नसकिने ऋणले मार्नै आँट्यो । अब कोसँग गुहार मागौँ ?’
काठमाडौं आएका सबैजसो ऋणी आफूले लिएको ऋण ब्याजसहित तिर्न तयार छन् । तर, उनीहरू प्रदेशीले सबैका सामु ऋण लेनदेनको कागज देखाउनुपर्ने पक्षमा छन् । तीन वर्षअघि छोरीको मृगौला उपचार गर्न पैसाले फिटीफिटी परेपछि शारदादेवी चौधरीले सयकडा पाँच ब्याज तिर्ने सर्तमा ४ लाख रुपैयाँ लिइन् । सबैतिर हारगुहार गरेर शारदाले नौ लाख खर्चेर छोरीलाई निको पारिन् । तर, उक्त ऋणको चर्को ब्याजदर र साहुले बनाएको नक्कली कागजातको पासोले उनलाई यतिखेर के गरौं, कसौं गरौं बनाएको छ ।

पछिल्ला चार वर्षमा साँवा र ब्याज गरेर ८ लाख रुपैयाँ तिरिसकेकोशारदा बताउँछिन् । उनका अनुसार प्रदेशीले आपतको फाइदा उठाउँदै दिएको ऋणका सातवटा फरक–फरक कागज गराएका छन् । श्रीमान् बजरंगी, छोरा कञ्चन दुवैले ऋण लिएको कागज प्रदेशीसँग छ । पाँचवटा फरक–फरक कागजमा भने शारदाले ऋण लिएको बेहोरा छ । यतिखेर प्रदेशीले ५० लाख ऋण लिएको कागज बनाएर त्यसैका भरमा शारदाविरुद्ध लेनदेनको मुद्दा हालेका छन् । अनपढ शारदाले कान्तिपुरसँग भनिन्, ‘लिँदै नलिएको त्यतिका पैसा कसरी तिरौँ ?’

सुजियादेवी चौधरीले करिब चार वर्षअघि सयकडा पाँच रुपैयाँ ब्याज तिर्ने सर्तमा १ लाख ९० हजार रुपैयाँ लिइन् । डेढ वर्षअघि नै उनले २ लाख ७० हजार रुपैयाँ तिरिसकिन् तर अझै पनि प्रदेशीले उनीसँग पैसा मागिरहेका छन् । प्रदेशीले आफ्नी छोरी इला साहसँग सुजियाले ऋण लिएको कागज बनाएका छन् । उनले एक लाख दिएर निरक्षर सुजियालाई ५ लाख लिएको कागजमा ल्याप्चे गर्न लगाएका थिए । अदालती कागजका अनुसार ०७२ वैशाख मसान्तसम्म तिर्ने सर्तमा सुजियाले ०७१ चैत १२ गते ५ लाख रुपैयाँ लिएकी थिइन् । एक वर्ष चार महिनाको ६६ हजार ६ सय ६६ रुपैयाँ ब्याज र अदालती मुद्दामा लाग्ने शुल्क ९ हजार ४ सय ४० रुपैयाँ गरी ५ लाख ७६ हजार १ सय ६ रुपैयाँ बिगो भराई पाऊँ भनी इलाले मुद्दा दायर गरेकी छन् । अदालतले सुजियाले पाँच लाखकै ब्याजसहित रकम तिर्नुपर्ने फैसला ०७३ फागुन १० गते गरेको थियो । आदेशमा फैसलाविरुद्ध चित्त नबुझे ३५ दिनभित्र उच्च अदालत जनकपुरमा पुनरावेदनको म्याद लिने व्यवस्था छ । तर, साँवा अक्षर नचिनेकी र नेपाली भाषामा दोहोरो संवाद गर्न नसक्ने सुजियाले कानुनी विधिबारे कुनै भेउ नै पाइनन् । न्यायको खोजीमा काठमाडौं आएकी उनले आँखाभरि आँसु पार्दै भनिन्, ‘अब न्याय खोज्न कहाँ जाउँm ? भगवान्ले कुरा सुन्छ कि ?’

सर्लाहीका कांग्रेस नेता एवं मन्त्री शम्भु श्रेष्ठ प्रदेशीले कानुन हातमा लिएर गरिब र निमुखामाथि शोषणको शृंखलाबद्ध धन्दा चलाएको बताउँछन् । उनका अनुसार पाँच महिनाअघि जिल्ला प्रशासन कार्यालयमा तत्कालीन प्रजिअ प्रदीप कँडेलका अघि प्रदेशीले हिसाबकिताब गरेर सबै समस्या सल्टाउने कबुल गरेका थिए । तर, छलफलपछि उनले हिसाबकिताब त टुंग्याएनन् नै, उल्टै ऋणीविरुद्ध अदालतमा मुद्दा दायर गर्नतिर लागे । ‘यो त निर्लज्ज खालको ठगी भयो,’ श्रेष्ठले भने ।

हरिऔन नगरपालिकाका मेयर गणेश प्रसाईं पनि प्रदेशीको मिटर ब्याजको धन्दाबारे राम्रोसँग जानकार छन् । उनले भने, ‘साँवा र ब्याज तिर्नेलाई भर्पाइ नदिने र एउटै ऋणबाट वर्षौं शोषण गर्ने काम भइरहेछ ।’ १ लाख ४० हजार रुपैयाँ ऋण लिएका एक व्यक्तिले तीन वर्षपछि ४ लाख ८० हजार बुझाउन खोज्दा पनि प्रदेशीले नमानेको सुनाउँदै उनले भने, ‘यसैबाट थाहा हुन्छ, उनी सुदखोर हुन् ।’ सर्लाहीका एमाले अध्यक्ष रेवती पन्त मिटर ब्याजमार्फत ठगी भइरहेको बताउँछन् । प्रदेशीले ऋणीसँग चार–पाँचवटा फर्जी कागज बनाउने गरेको जनाउँदै उनले भने, ‘मैले यसबारे प्रहरीलाई पनि भनें तर लेनदेनको मुद्दा भन्दै पन्छियो ।’ प्रदेश २ की सांसद बेचु लुंगेली पनि ब्याजी धन्दाबारे राम्रोसँग जानकार छिन् । उनले ऋणीहरूको उठीबास लगाउने गरी प्रदेशीले ब्याजको पासो थापेको बताउँछिन् । ‘फर्जी कागजका आधारमा न्याय मार्ने काम भइरहेको छ,’ लुंगेलीले भनिन् ।

दसैंअघि पनि पीडितहरू प्रदेशीलाई भेट्न काठमाडौं आएका थिए । त्यति बेला कालिमाटी प्रहरी वृत्तमा प्रदेशी र ऋणीबीच छलफल गराइएको थियो । वृत्तका डीएसपी प्रदीप खत्री लेनदेनको मुद्दा भएको र अदालतमा मुद्दा चलिरहेकाले प्रहरीले केही गर्न नसक्ने बताउँछन् । ‘ऋण दिने पनि गतिलो मान्छे हैन तर फर्जी कागज बन्दा पीडित किन चुप लागेर बसे ?,’ उनले प्रश्न गरे । प्रदेशीले आइतबार कालीमाटी वृत्तमा छलफलका लागि आउने बताएपछि पीडितहरू कार्यालय पुगेका थिए । तर, दिनभर उनी आएनन् । कान्तिपुरले बारम्बार प्रयास गर्दा पनि उनी सम्पर्कमा आएनन् । प्रदेशीका छोरा सुजय साहले भने ऋणीहरूले पैसा पचाउन नाटक गरेको दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here